कैलाली ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली जाने भएका छन् । आज साँझ बुद्ध एयर मार्फत ओली धनगढी जाने जनाइएको छ ।
१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली जान लागेका हुन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू आउँदै छन् ।
अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बस्ने छन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोली जादैँ छन् ।भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।
१४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् । यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ ।













