एमाले गण्डकीले युवा नेतृत्व पाउँछ : सोभियत ढकाल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका युवा नेता सोभियत ढकालले एमाले गण्डकी प्रदेशको नेतृत्व युवाले गर्ने बताएका छन् ।

गुटबन्दी र नेताको आर्शिवादका साथै गुटबन्दीमा रमाउने भन्दापनि पार्टीलाई गतिसिल बनाउन सक्ने योगदान दिएका नेता कार्यकर्ताको मुल्यांकन गर्ने नेतृत्व गण्डकी एमालेले पाउने उनले दाबी गरे । शनिबार केन्द्रखबरको बहसमुलक कार्यक्रम केन्द्र फोकसमा कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा आफ्नो दाबी रहेको सार्वजनिक गर्दै उनले पार्टीमा कसैलाई जिम्मेवारी माथि जिम्मेवारी र कोही जिम्मेवारी विहिन हुन नहुने धारणा राखे ।

पार्टी केन्द्रमा अबसर पाएकाहरुलाई प्रदेशमा अपेक्षा नराख्न समेत उनले आग्रह गरेका छन् । पार्टी केन्द्रमा भुमिका पाएकाहरुले केन्द्रमा नै भुमिका खेल्नुपर्ने उनले जोड दिए ।

लुम्बिनी प्रदेश र बागमतीमा जस्तै गण्डकी प्रदेशमा पनि नेतृत्व चयन निर्वाचन मार्फत नै हुने उनले बताए । पार्टीमा हिजो तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीले स्थापित गरेको प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल गर्ने मान्यतामा प्रतिस्पर्धा स्वभाविक रहेको उनले प्रतिक्रिया दिए ।

गण्डकी प्रदेशको नेतृत्वमा आउने पात्रमा पार्टी केन्द्रले हस्तक्षेप नगर्ने र प्रतिनिधिले नै विवेक प्रयोग गर्न पाउने उनको भनाई छ । ‘पार्टी नेतृत्वले यो वा त्यो भन्दैन । जो प्रतिनिधिहरु आउनुभएको छ । उहाँहरु पार्टीमा दुख गरेर निकै खारिएर आउनुभएको छ । उहाँहरुले विवेक प्रयोग गर्नुहुन्छ । उहाँहरुको विवेककै आधारमा गण्डकी प्रदेशको नेतृत्व चयन हुन्छ’ उनले भने ।

उनले एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा आफू निर्वाचित भए आगामी निर्वाचनमा एमाललाई केन्द्र, प्रदेश र स्थानीय तह सबैमा पहिलो पार्टी बनाउने अठोट व्यक्त गरे । उनले समग्र गण्डकीको विकास र पार्टीलाई अगाडि बढाउने ऐजेण्डाका साथ आफू अगाडि बढेको धारणा राखे ।

  • १३ आश्विन २०८०, शनिबार ०८:४६ प्रकाशित