प्रधानमन्त्री पुष्पकमल दाहाल न्युयोर्कबाट चीन जाने

केन्द्रभाग मिडिया

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट सिधै चीन जाने भएका छन्। चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल आज चीनको हाङझाव जान लागेका सचिवालयले जनाएको छ। उनको सचिवालयका अनुसार न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्न लागेको हो।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका दाहाल हाल न्यूयोर्कमा छन्।

हाङझावमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ। भोलीदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच भेट्ने कार्यक्रम तय भएको छ। चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रर्वद्न परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्। त्यसपछि प्रधानमन्त्री दाहालले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहालको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन्।

दाहाल नेतृत्वको टोली चीन भ्रमण सकेर प्रचण्ड सेप्टेम्बर ३० मा स्वदेश फर्कनेछ।

  • ५ आश्विन २०८०, शुक्रबार १४:०१ प्रकाशित