काठमाडौं ।
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बाध्यतामा परेर शुल्क वृद्धिको निर्णय गरिएको जनाएको छ । २८ वर्षअघि निर्धारण गरिएको शुल्क अनुसार नै अहिले पठनपाठन हुँदै आएको भन्दै संस्थानले यो अवस्थामा पढाउन नसकिने प्रस्ट पारेको छ ।
नेपाल सरकारले दिँदै आएको अनुदानसमेत विगतका वर्षदेखि निरन्तर कटौती गर्दै आएको भन्दै आईओईले एकातिर राज्यले दिने अनुदान कटौती गर्ने र अर्कोतिर संस्थान निरन्तर घाटामा गएका कारण पुरानो शुल्कमा पढाउन नसकिने जनाएको छ ।
सहायक डीन डा। सुरज लामिछानेले भने, ‘हामीले ४० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने हो । बाँकी विद्यार्थीले पूर्ण शुल्क तिरेर पढ्ने हो । यो अवस्थामा जम्माजम्मी २ हजार ४२० सिट संख्या छ ।’ त्यसमध्ये १ हजार ८१० कोटा पूर्ण शुल्क तिरेर पढ्ने रहेको उनको भनाइ छ । पूर्ण शुल्क लाग्ने कोटाको मात्र अहिले शुल्कवृद्धि गरिएको उनले बताए ।













