रामेछाप ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गएको बताएका छन् ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिएको बताएका हुन् ।
‘हिजो हामी सामन्तवाद निरंकुशविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौं । त्यसबेला माओवादी र जनताको सम्बन्ध पानी र माछाको सम्बन्ध जस्तै थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं ।’
प्रधानमन्त्री दाहालले ‘शान्ति सहकार्य र एकता’को सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजान आवश्यक रहेको बताए । मुलुकमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘हामी देशमा आमूल परिवर्तन ल्याऔं भनेर सैद्धान्तिक रूपमा भन्न त भन्छौं तर व्यवहारमा जनताको दैनिकीमा परिवर्तन ल्याउन सकिरहेका छैनौं । कहीँ न कहीँ अल्मलिएका छौं,’ प्रधानमन्त्री दाहालले भने ।
मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको पनि प्रधानमन्त्री दाहालको दाबी छ ।













