युवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसरमा चितवनको भरतपुर २२ पटिहानीमा भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार बिहान प्रधानमन्त्री प्रचण्डले त्यस्तो अपिल गरेका हुन् ।

पछिल्ला दिनमा देशले नयाँ गति लिँदै आएको र त्यसका लागि युवाहरुको भूमिका महत्त्वपूर्ण हुने बताउदै प्रधानमन्त्रीले भने, “विस्तारै देशले नयाँ गति लिँदै छ । देशभित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देशभित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु ।”

प्रधानमन्त्री प्रचण्डले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको बताउदै आफू चितवन आउँदै गर्दा हिजो मात्रै सिंहदरबारमा यस विषयमा छलफल भएको जानकारी दिए । उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् रु उनीहरुका समस्या समाधानमा के गर्न आवश्यक छ रु देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने रु भन्ने जस्ता विषयमा छलफल भएको बताए ।

प्रधानमन्त्रीले कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताए । यी क्षेत्रमा केही सुधार हुनासाथ वैदेशिक रोजगारीमा जाने केहीलाई रोक्न सकिने उनको दाबी थियो ।

हालैको भारत भ्रमणको प्रसंग उठाउँदै प्रधानमन्त्री प्रचण्डले नेपालको कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत छलफल गरेको जानकरी दिए ।

  • २७ श्रावण २०८०, शनिबार १४:४१ प्रकाशित