गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना छ । विभिन्न क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको अहिले न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) छ । यसका साथै भारतको विहारको उत्तरपश्चिम भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको विभागले जनाएको छ ।

महाशाखाका अनुसार अहिले विहान बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोसी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले आज नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने विभागको भनाइ छ । त्यसैले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ ।

 

  • २६ श्रावण २०८०, शुक्रबार ०७:५९ प्रकाशित