काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले संसद्को गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन।
उनीहरुले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका छन्। संसद्को भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए। संसद् बैठक नै बस्न नसक्ने अवस्था सिर्जना गरेर एमालेले बेठिक गरेको बैठकमा नेताहरुले राखेको उनले बताए ।
शनिबारबाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। एकीकृत समाजवादीले पार्टीको आसन्न महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यस अघि पार्टीको सचिवालय बैठक बोलाएको थियो। उपमहासचिव तुलाधरका अनुसार अब भदौको पहिलो साता बस्ने पोलिटब्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ।













