विराटनगर ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान १०ः३० बजे शपथ लिने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेका लागि राखिएको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट तीन मन्त्रीको पनि शपथ हुने जानकारी आएको र सोही अनुसार तयारी गरिएको श्रेष्ठले बताए ।
माओवादीबाट सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम, कांग्रेसबाट प्रदीपकुमार सुनुवार र एकीकृत समाजवादीबाट कमल जबेगुले मन्त्रीमा शपथ लिने भएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ ।













