काठमाडौँ ।
अर्थमन्त्री डा.प्रकाश शरण महतले आज विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।
अर्थमन्त्री महतले सरकारी निकायहरूले समन्वयकारी रूपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताए ।
उनले एउटा मात्रैको भूमिकाले राम्रो परिणाम आउन नसक्ने बताए । उनले करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताए ।
उनले सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले काम गर्दा गैरकानूनी गतिविधिलाई न्यूनीकरण गर्न सकिने बताए । उनले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयात्मक भूमिका भए मात्रै गैरकानूनी गतिविधि कम गर्न सकिने उल्लेख गरे ।
अर्थमन्त्री महतले अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेको भन्दै विमानस्थल भन्सारमा जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नति गर्नुपर्ने बताए ।













