काठमाडौँ ।
प्रतिनिधि सभा बैठक आगामी साउन १५ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।
एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।
संसद अवरुद्ध गर्नुअघि संसदको आकस्मिक समयमा विभिन्न दलका सांसदहरुले सुन तस्करी प्रकरणको छानविन गर्न र मुख्य अभियुक्तलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीलाई सरकारले सहयोग गरिरहेको आरोप लगाउँदै गृहमन्त्री, अर्थमन्त्री लगायतमाथि छानविन गर्न माग गरेको थियो ।
एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको संरक्षणमा सुन तस्करी भइरहेको आरोप लगाउँदै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको सुन तस्करसँग १९५ पटक फोन सम्वाद भएको भन्दै सरकारले अनुसन्धान नगरी संरक्षण गरेको आरोप लगाए ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नगरी संसद अघि बढाउन नदिने चेतावनी दिएको थियो ।













