चार जना सवार मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको निधन

केन्द्रभाग मिडिया

सुनसरी ।
इटहरीमा गए राती मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

तीव्र गतिमा कुदाएको ४ जना सवार मोटरसाइकल भारतीय पिकअपसँग ठोक्किएर दुर्घटना भएको कोशी प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ । शुक्रबार राति १०ः४० बजे इटहरी १७ कान्छी चौक राजमार्गमा दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको डब्लु बी ७३ इ ९११७ को भारतीय पिकअप ठक्कर खाएका थिए ।

मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी छन् ।

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पिकअप चालक भारत दार्जिलिङका गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • ६ श्रावण २०८०, शनिबार १०:४९ प्रकाशित