काठमाडौं ।
महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्धका लागि हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये १ लाख ८० हजार ९ सय २२ पशुमा खोप लगाउने कार्य सम्पन्न भएको पशु सेवा विभागले जनाएको छ ।
‘पशुमा देखिएको महामारी नियन्त्रण गर्नकै निम्ति निजी क्षेत्रलाई खोप आयातको स्वीकृति दिएका छौं, हालसम्म १० लाख ३६ हजार डोज खोप आयात भइसकेको छ,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘आयातित खोप ७ वटै प्रदेशका विभिन्न जिल्लामा १ लाख ८० हजार ९ सय २२ पशुमा लगाइएको छ ।’
विभागका अनुसार गाईभैंसीको खोपकै लागि २०७९र८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्ला बाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय शसर्त अनुदान अन्तर्गत १ लाखका दरले रकम विनियोजन भएको छ । सो रकमबाट औषधि उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह गरेको छ ।












