बर्दिया पोखरा सम्पर्क समाजको अध्यक्षमा पौडेल : १५ सदस्यीय नयाँ कार्यसमिति

केन्द्रभाग मिडिया

पोखरा ।

बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो अधिवेशन तथा पाँचौं साधारणसभाबाट केशवराज पौडेल अध्यक्षमा चुनिएका छन् ।

पोखरामा सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति आगामी दुई वर्षका लागि सर्वसम्मत चयन गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्ष सुरेशराज सुवेदी, उपाध्यक्ष पुष्पा मरासिनी, महासचिव तोया अधिकारी, सचिव पदमप्रसाद ढकाल, कोषाध्यक्ष रामप्रसाद अधिकारी, सहकोषाध्यक्ष विन्दु अधिकारी चयन भए । सदस्यहरुमा उषा रिमाल, सीता थारु, दर्पण थारु, रंगिला बास्तोला, ज्योति थारु, सागर पौडेल, कृष्ण देवकोटा र ईश्वरी श्रेष्ठ चुनिए ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य सचिव विनोदविन्दु शर्माले समाजले बर्दिया र पोखरालाई भावनात्मक रुपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । आगामी दिनमा नयाँ कार्यसमितिले अझ सशक्त कार्यक्रमहरु कार्यान्वयन गर्दै समाजको भूमिका विस्तार गर्न उनको सुझाव थियो ।

सोही अवसरमा बर्दियामा लामोसमय शैक्षिक सेवा प्रदान गरेका अग्निधर सुवेदी, ज्येष्ठ नागरिक गंगाराम पौडेल र समाजका संस्थापक सदस्य शिषिर कंडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दीपक पौडेल, पूर्ण शर्मा, निलबहादुर अधिकारी, गोविन्द अधिकारी लगायतले धारणा राखेका थिए । समाजले नियमित वर्ष प्रकाशन गर्दै आइरहेको भित्तेपात्रो ‘२०८०’ को विमोचन गरियो ।

  • ३० चैत्र २०७९, बिहीबार १५:३८ प्रकाशित