काठमाडौँ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा उभिन निर्देशन दिएका छन् ।
प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक डिआईजीहरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले सोमबार निर्देशन दिएका हुन् । साथै, प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरूमा सद्भाव राखेर काम गर्न पनि उनले निर्देशन दिए ।
कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बनेर नियम कानुनको पालनमा दृढ रही काम गर्न समेत मन्त्री लामिछानेले निर्देशन दिए ।गत २८ पुसमा भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डिआईजीहरूलाई सोमबार गृह मन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताए ।
यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न उनको निर्देशन थियो । संगठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्रभावित हुन नदिने अडानमा आफू रहेको भन्दै उनले यति सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नरहने बताए ।












