काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अब नसुध्रिने टिप्पणी गरेका छन् । आज नेता घनश्याम भुसाललाई आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीमा स्वागत गर्दै अध्यक्ष नेपालले सो बताएका हुन् ।
उनले भने, ‘उही विचार र सिद्धान्तले पुरानो पार्टी सुध्रिनेवाला छैन भन्ने निष्कर्षमा हामी पुग्यौं । अहिले घनश्यामजी पुग्नुभयो । अरु पनि पुग्दै जानुहुन्छ । उहाँहरुलाई हाम्रो पार्टीमा स्वागत गर्छौं ।’
नेपालले पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताएका छन् ।उनले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताए ।
उनले भने, ‘हामीले हाम्रो पार्टी बनाएरमात्रै पुग्दैन। सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्छौं । त्यसकारण नयाँ आशा जागेको छ ।’












