काठमाडौं ।
किसानले मल नपाउँदा खेतीमा असर पुग्न थालेपछि सरकारले विकल्पको रुपमा झोल मल बजारमा ल्याएको छ ।
सरकारले रासायनिक मलको विकल्पका रुपमा झोल मल बजारमा ल्याएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल)बजारमा उपलब्ध रहेको जानकारी दिए ।
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको र आजदेखि बजारमा उपलब्ध भएको जानकारी दिए ।
एक लिटर मलको मूल्य ८०० रुपैयाँ पर्ने र एक लिटर मलले एक बिगाहालाई नाइट्रोजन दिने उनको भनाइ छ । कृषि अनुसन्धान परिषदले अनुसन्धान गरेर सिफारिस गरेपछि वैज्ञानिकहरुका सुझावका आधारमा भारत सरकारसँग पत्राचार गरी उक्त मल भित्र्याइएको उनले बताए । भारतले ५ लाख लिटर उक्त मल दिने निर्णय गरेको उनको भनाइ छ ।
मन्त्री यादवका अनुसार भारतबाट असारभित्र ८० लाख मेट्रिक टन रासायनिक मल आउदैछ ।