‘कोदोको रक्सी अनुसन्धानले अर्थतन्त्रमै कायापलट गराउने आधार दिन्छ’

केन्द्रभाग मिडिया

कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा गण्डकी विश्वविद्यालयको विज्ञ समूह नै बनाएर यतिबेला काम गरिरहेको छ । विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक सह–प्रध्यापक डा. देव प्रसाद पाण्डेको नेतृत्वमा ६ जनाको विज्ञ टोली अनुसन्धानका लागि खट्टिएको छ । प्रा. डा दुर्गा देवकोटा, रजिस्टार डा. कैलाश तिमिल्सिना डा. नुवादत्त सुवेदी, डा.सागर रेग्मी, डा. राकेश कुस्मा र डा. रामचन्द्र पौडेल यो टिममा छन् । कोदो र कोदोको मदिराजन्य पदार्थका विभिन्न पक्षसंग सम्बन्धित अनुन्धान बढाउने कामको नेतृत्व गरिरहेका विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक सह–प्रध्यापक डा. देव प्रसाद पाण्डेसंग केन्द्रखबरका लागि पत्रकार गोविन्द सुवेदीले गरेको छोटो कुराकानी ।

  • विश्वविद्यालयले कोदोको र यसको मदिराको अनुसन्धान किन गर्नुपर्यो ?

कोदोको मदिराजन्य पदार्थ निर्माण गर्ने विशिष्ट विधि छ । यसको गुण र स्वाद पनि विशिष्ट नै छ । हाम्रा आदिवासी जनजाति समुदायको बर्षौं देखिको सिप यसमा प्रयोग भएको छ । यसलाई ब्राण्डिङ गर्ने, कोदोको उत्पादकत्व बढाउने र यो उत्पादन गर्ने आदिवासी जनजाति सहित देशकै अर्थतन्त्रमा कायापलट गराउने उद्देश्य राखेर हामीले अनुसन्धान गर्न सुरु गरेका हौं ।

यसले विदेशबाट आउने महंगा ब्राण्डेड मदिराको आयात प्रतिस्थापन गर्ने मात्र होइन, नेपाली ब्राण्डलाई विश्वभर पु¥याउने आधार खडा गर्छ भन्ने हाम्रो विश्वास छ । त्यही विश्वासका साथ हामीले अनुसन्धान गर्न आवश्यक ठान्यौं र अगाडि बढ्र्यौं ।

  •  विश्व खाद्य संकटको चपेटामा छ । हाम्रै दूर्गम जिल्लाहरुमा खाद्यान्न अभावका खबर आइरहन्छन् । यस्तो अवस्थामा कानुनी र समाजिक नजरमा अन्नलाई गलत प्रयोग गर्ने अनुसन्धान तर्फ किन लाग्ने ?

त्यसो होइन, हामीले कोदोको पनि अनुसन्धान गरेर यसको पनि उत्पादकत्व बढाउने भनेका छौं । तराई देखि हिमालसम्म नै फल्ने कोदोको उत्पादन कस्तो छ भनेर यहाँहरुले नै देखिरहनुभएको छ । यसको उत्पादन बढाउने हो ।

खाद्यान्नको रुपमा पनि भरपुर उपयोग गर्दै बढी भएको कोदोबाटै मदिराजन्य पदार्थ उत्पादन गराउने हो । अहिले जमिन बाँझो राखेर थोरै उत्पादन भएको अन्नबाट मदिराजन्य पदार्थ उत्पादन गर्दा त्यस्तो लाग्नु स्वभाविक होला तर, उत्पादन बढाएर लुकिछिपी भएको मदिरा उत्पादनलाई ब्रण्डिङ गर्ने हो । औद्योगिकरण गर्ने हो । यसले खाद्ययसंकट बढाउँदैन । खाद्यान्नको उत्पादन बढाउँछ र समग्र देशकै जीवनस्तर उकास्छ ।

  •  यसको अनुसन्धानमा ठूलै धनराशी खर्चिनुपर्छ होला । रक्सीको अनुसन्धानमा धेरै खर्च गर्दा नागरिक के भनिरहेका होलान् भन्ने लाग्दैन ?

हामीकहाँ राज्यले पनि पहिला प्रतिफल केमा छ भनेर सोच्छ । नागरिकको पनि यही सोचाई हुन्छ । अझ कोदो कुहाउने र जाँड पार्ने अनुसन्धान किन गर्ने भन्ने तपाईको पनि प्रश्नलाई मैले अस्भाविक मान्दिन । हेर्नुस्, अनुसन्धान गर्दा करोडौं रुपैयाँ लाग्छ । यसले दीर्घकालमा राम्रो प्रभाव पार्छ । अहिले अनुसन्धान गरेर अहिले नै प्रतिफल आइहाल्ने भन्ने होइन । हामीकहाँ खोइ प्रतिफल भन्ने चलन छ ।

अहिले कोदोको उत्पादन हुन लगभग छाडेको अवस्था छ । जमिन सवत्र खाली राखिएको छ । यो पाखोहरुमा समेत उत्पादन हुने कोदोको उत्पादकत्व बढाउने अनुसन्धान हो । विश्वविद्यालयको महत्वपूर्ण काम नै नयाँ नयाँ विषयमा खोज अनुसन्धान गर्ने हो । ब्यापक सम्भावना बोकेको यस्तो विषयमा किन अनुसन्धान नगर्ने भनेर दृढसंकल्प लिएर यो अनुसन्धान अगाडि बढाएका छौं ।

विश्व अहिले ग्लोबल वार्मिङको प्रभावमा छ । हाम्रो देशमा अझ धेरै प्रभाव छ । रैथाने उत्पादन हुन छाडेको या प्रतिफल नै नदिने अवस्थामा छन् । यसलाई समेत हामीले यो अनुसन्धानमा ध्यान दिएका छौं । हाम्रो देशको माथिल्लो भूभागमा कोदोको महत्व बुझाउने र आदिवासी जनजातिको अभिन्न उत्पादन रहेको यसलाई उहाँहरुको सिप अनुभव लिएर औद्योगिकरण गर्ने कुरा छ । हामीले यसको ब्राण्ड नै बेच्न सक्छौं ।

अहिले पनि विदेशबाट महंगा रक्सी आयात भइरहेका छन् । विदेशीले यहाँ आउँदा कोदोको मदिरा मन पराएकै पाएका छौं । त्यो आयात रोक्ने, आफ्नो उत्पादन बढाउने अनि उत्पादनसंग जोडिएको समुदायलाई माथि उठाउने योजना सुन्दा नागरिकले पक्कैपनि खुशी नै प्रकट गर्छन् । अनि अनुसन्धानमा पाँच करोड भनेको खासै ठूलो रकम होइन । हामीले यो भन्दा धेरै रकम ब्राण्ड बेचेरै लिन सक्ने अवस्थामा पुग्छौं भन्ने छ ।

‘ संकलन गरेर पठाइएका नमुना मध्ये केहीमा स्वास्थ्यलाई हानी गर्ने विषाक्त तत्व मिथानल भेटिएको छ । तर, थप बैज्ञानिक विश्लेषण गरेरमात्र अन्तिम निचोड बाहिर ल्याउँछौं । मानिसको जीवनसंग जोडिएको रिसर्च भएकाले यसको अनुसन्धानले केही समय लिन्छ नै । अब मर्चाको पनि अन्तिम रिपोर्ट आउने तयारीमा छ । ‘ –डा. देव प्रसाद पाण्डे

  • कसरी हुँदैछ अनुसन्धान ?

हामीले गण्डकी प्रदेशका विभिन्न पाँच जिल्लाबाट प्रत्यक जिल्लामा ८५ नमुनाका दरले परम्परागत मदिरा उत्पादन गर्ने ४२५ घरधुरीबाट नमुना संकलन गरेका थियौं । पाँच जिल्ला (नवलपुर, लमजङ, कास्की, स्याङ्जा र म्याग्दी) का विभिन्न जनजाति बाहुल्य बस्तीमा पुगेर जहाँ परम्परागतढंगले मदिराजन्य पदार्थ उत्पादन हुन्छ, त्यहाँ पुगेर उहाँहरुका अनुभव सुन्ने, प्रक्रिया बुझ्ने र नमुना संकलन गरिएको थियो ।
खाद्य प्रविधि विभागमा एक वर्ष लगाएर रक्सीको इथानल, मिथानल र आर्सेनिकसहित अरु विभिन्न इन्डिकेटरहरु हेरेर निर्कोल गरिएको हो । संकलन गरेर पठाइएका नमुना मध्ये केहीमा स्वास्थ्यलाई हानी गर्ने विषाक्त तत्व मिथानल भेटिएको छ । तर, थप बैज्ञानिक विश्लेषण गरेरमात्र अन्तिम निचोड बाहिर ल्याउँछौं । मानिसको जीवनसंग जोडिएको रिसर्च भएकाले यसको अनुसन्धानले केही समय लिन्छ नै ।

अब मर्चाको पनि अन्तिम रिपोर्ट आउने तयारीमा छ । चितवनमा रहेको कृषि विश्वविद्यालयमा अहिले मर्चाको परीक्षण गरेर रिपोर्ट तयार पार्ने काम भइरहेको छ । नमुना संकलन गरिएको अल्कोहल र मर्चा पछि हामी कोदोको उत्पादनको विषयमा समेत अनुसन्धान गछौं ।
कोदोको मदिराजन्य पदार्थको अनुसन्धानले सिंगो देशलाई नै समृद्ध बनाउने तथ्य वाहिर ल्याउँछ भन्ने हाम्रो विश्वास छ । अनुसन्धानले कोदोको मदिराजन्य पदार्थ उत्पादनमा नयाँ रहस्य बाहिर ल्याउँ छ नै साथै विदेशी ब्राण्डका रक्सीको आयात घटाउँदै देशलाइ समृद्ध बनाउने आधार तयार ह’नेछ भन्ने हाम्रो पूर्ण विश्वास छ ।

हाम्रो देशको तराई देखि झण्डै हिमाली भागसम्म उत्पादन हुने यो कोदोको उत्पादकत्व बढाउँदै खाद्यान्न संकट टान सकिन्छ । यसबाट बन्ने मदिराजन्य पदार्थलाई ब्रण्डिङ गरेर त्यसको प्याटेन्ट राइट समेत नेपालको हुनेछ ।

 

  • २५ भाद्र २०७९, शनिबार १४:०६ प्रकाशित