१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, स्थानीयले अर्धचेत अवस्थामा भेटे

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

कैलाली ।

कैलालीको घोडाघोडीमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेका हुन् ।

सानो काम छ भन्दै किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएर अन्य साथीहरुलाई पनि बोलाएर रातभर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२१ गते राति किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् ।बलात्कारपछि बेहोस किशोरी २२ गते दिउँसो होसमा आएको बताइएको छ । उनी त्यसपछि साथीको घरमा गइन् ।

२३ गते फेरी सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।बेवारिसे अवस्थामा एक किशोरी केही समस्या रहेको जस्तो अवस्थामा प्रहरीले जानकारी पाएपछि उनलाई घोडाघोडी अस्पतालमा उपचार सुरु गरेको थियो।

राति २ बजे उनी होसमा आएको प्रहरीले जनाएको छ । किशोरी होशमा आएपछि प्रहरीले लिएको बयानमा युवकहरुले सानो काम छ भनेर लिएर गएको र त्यहाँ आफूलाई केही खुवाएर सामूहिक बलात्कार गरेको पीडित बयान दिएकी छन् । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरेको बताएको छ ।

अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । थप एक जना फरार रहेको र फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

  • २४ भाद्र २०७९, शुक्रबार १६:५६ प्रकाशित