चुनावको मुखमा कास्कीमा सिडियो फेरीए, टेकबहादुर केसी आउने

केन्द्रभाग मिडिया

पोखरा।

सरकारले काठमाडौंँ जिल्ला लगायतका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ। गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो ।

निर्वाचन आयोगले सरुवा–बढुवा नगर्न निर्देशन दिएको भोलिपोल्ट उक्त निर्देशनको अवज्ञा गर्दै एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।

काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । मन्त्रालय स्रोतका अनुसार, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ। कास्की जिल्लामा भने गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी प्रमुख जिल्ला अधिकारी भएर आएका छन्।

काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरेर काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ ।

जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरी पठाइएका छन् । त्यस्तै दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।

यसै गरी सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।

 

  • २२ भाद्र २०७९, बुधबार ११:०२ प्रकाशित