भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार वटा घोडासहित २२ करोड ३८ लाख रुपैयाँ बराबरको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् ।

विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित विशेष समारोहबीच उनले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानसेनापति शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गरेका थिए । पाण्डेले निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार नै प्रधानसेनापति प्रभुराम शर्मासँग उनले भेटवार्तासमेत गरे । पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएका सेनाध्यक्ष पाण्डेको सम्मानमा बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।

  • २० भाद्र २०७९, सोमबार १५:३२ प्रकाशित