एमाले प्रचार विभाग प्रमुख गुरुङलाई प्रश्न : सर्वहाराको पार्टी दावी गर्ने एमालेले किन पाँच तारे होटलमा रात्रीभोज दिएको ?

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई पाँच तारे होटल एभरेष्टमा रात्रीभोज दिएको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । आलोचकले सर्वहाराको पार्टी भन्दै व्यंग्य गरेका छन् । तर, एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले पाँच तारे होटलमा पार्टी दिनु आफूहरुको बाध्यता रहेको दावी गरेका छन् ।

उनका अनुसार शनिबार बैठक सकिएपछि अध्यक्ष केपी शर्मा ओलीले चेलिबेटीलाई दर खुवाउने घोषणा गरे । हल खोज्दा नभेटेपछि एभरेष्ट होटलमा दर खुवाईको हो । ‘अध्यक्ष ज्युले चेलीबेटीलाई आज दर खुवाउने भन्नुभयो ।

हामीले प्रयोग गर्दै आएको कार्की बेनक्विट पनि प्याक रहेछ । अन्यत्र पनि प्याक छ भनेपछि पाँच तारे होटलमा कार्यक्रम राखेको हो । पार्टी प्यालेस र पाँच तारे होटलमा खर्च उस्तै हो । तारे होटेलमा दर खुवाएको विषयलाई ठूलो इष्यु बनाउन जरुरी छैन’ उनले भने ।

भइरहेको आलोचनाको बारेमा जिज्ञासा राख्दा एमालेका उपमहासचिव समेत रहेका प्रवक्ता गुरुङले एमालेले सुन नै फलाएपनि आलोचना गर्ने गरिएको गुनासो गरे । ‘एमालेले सुन नै फलाएपनि आलोचना हुन्छ । ३/४ सय जना थियौं । हल अल्लि ठूलो चाहिने भयो । चेलिबेटीलाई दर खुवाएको हो । यसमा पनि आलोचना गर्नुपर्ने विषय के छ र ?’ उनले प्रति प्रश्न गरे ।

शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो अनुसार अध्यक्ष ओली गिटार र हार्मोनियम बजाउँदै गरेको देखिएका थिए । शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको थियो । ‘अध्यक्ष ओलीले प्रधानमन्त्रीको उम्मेदवार भएको खुशीयालीमा पार्टी दिनुभएको हो ?’ भन्ने केन्द्र खवरको जिज्ञासामा प्रवक्ता गुरुङले भने, ‘दोहोरीएर प्रधानमन्त्री भइसक्नुभएको अध्यक्ष ज्युलाई त्यो निर्णयले उत्साहित बनाउने विषय थिएन र होइन । मात्र चेलिबेटीलाई दर खुवाउने उद्देश्य हो

  • १२ भाद्र २०७९, आईतवार ११:२० प्रकाशित