काठमाडौं ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । दुबै बैठकमा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ ।
प्रतिनिधिसभाको ११औँ अधिवेशनको ५७ औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि, हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो । गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।
आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रियसभाको १२ औँ अधिवेशनको ४७ औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ः५९ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।













