तनहुँ १ बाट चुनाव लड्ने पूर्वमन्त्री श्रेष्ठको घोषणा : भने,‘रामचन्द्रजीले मेरो लागि छोड्नुहुन्छ भन्नेमा विश्वस्त छु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू तनहुँ क्षेत्र नम्बर १ बाटै लड्ने घोषणा गरेका छन् ।

उनले सत्तारुढ गठबन्धनमा अघिल्लो निर्वाचनमा ज–जसले जहाँबाट चुनाव जितेको छ, त्यही पार्टीले मात्र नभएर जसले जितेको छ, सोही व्यक्ति उम्मेदवार हुने मापदण्ड बनेको भन्दै सोही मापदण्ड अनुसार तनहुँ–१ मा आफ्नो दाबी निर्विकल्प रहने प्रस्ट पारे ।

‘त्यसमा पनि विशेष गरी नेकपा एमालेसँग विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीलाई विशेष महत्त्वका साथ गठबन्धनले सिट दिने भन्ने सहमति भएको छ । सो अनुसार तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीबाट म नै उम्मेदवार हुँ,’ उनले भने ।
सो क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि नै चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनले पौडेलले आफ्ना लागि सो क्षेत्र छोड्नेमा आफु विश्वस्त रहेको समेत बताएका छन् ।

यद्यपि उनले आफू पार्टीको एउटा इमानदार सिपाही भएकाले पार्टी र गठबन्धनका शीर्ष नेताहरूको निर्देशनलाई अटेर गर्न नसक्ने बताए । ‘पार्टीले जा भन्यो, गठबन्धनले जा भन्यो भने जानुपर्छ तर मलाई विश्वास छ, मेरो पार्टी र गठबन्धनका नेताहरूले मलाई अन्याय गर्नुहुन्न । तनहुँ क्षेत्र नम्बर १ कै टिकट पाउँछु भन्नेमा म विश्वस्त छु ।’

  • ५ भाद्र २०७९, आईतवार १७:०० प्रकाशित