बजेट विपरितका कार्यक्रमहरु नगर्न आयोगको निर्देशन

केन्द्रभाग मिडिया

निर्वाचन आयोगले बजेट विपरितका कार्यक्रमहरु सञ्चालन नर्गन निर्देशन दिएको छ ।

आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको हो । आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको हो ।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारको योजनामा नपरेका कार्यक्रमहरु सञ्चालन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने आयोगले जनाएको छ ।

आइतवार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पदावधि सकिन लागेका जनप्रतिनिधिले नयाँ काम गर्दा मतदातालाई प्रभाव पार्ने र निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भएकाले निर्देशन जारी गरिएको उल्लेख गरे ।

सहायक प्रवक्ता अर्यालले बजेटमा उल्लेख भएका योजनाहरु भने नरोकिने स्पष्ट पारे ।

  • ५ भाद्र २०७९, आईतवार १६:३२ प्रकाशित