काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश प्रवाह गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै यस पर्वको धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको उल्लेख गरेकी छिन् ।
धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने सन्देशमा उल्लेख छ ।
विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।
“सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ,” सन्देशमा भनिएको छ ।
उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।













