आर्थिक संकटमा फसेको श्रीलंकामा राजनीतिक संकट, राष्ट्रपति राजापाक्षेविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी

केन्द्रभाग मिडिया

श्रीलंकाको गम्भीर आर्थिक संकटले देशलाई राजनीतिक संकटतर्फ धकेलिएको छ। अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई आफ्नो पदबाट राजीनामा नदिए सदनमा अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन्।

श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। मुलुकमा इन्धन, खाद्यवस्तु, बिजुली र अत्यावश्यक औषधिको चरम अभाव छ। देशभर विद्युत् आपूर्ति नहुँदा सर्वसाधारणले घण्टौंसम्म विद्युत् कटौतीको सामना गर्नुपरेको छ।

राष्ट्रपति गोताबाया राजापाक्षेविरुद्ध देशका सडकमा आम नागरिकको प्रदर्शन दिनप्रतिदिन बढ्दै गएको छ।

आन्दोलनकारीले गोटबायाको राजीनामा माग गरिरहेका छन्। जनताको आक्रोश देखेर श्रीलंकाको पूरै मन्त्रिपरिषद्ले गत हप्ता राजीनामा दिएको थियो। तर, बढ्दो जनआक्रोशका बाबजुद पनि राष्ट्रपति गोटाबाया र उनका भाइ तथा देशका प्रधानमन्त्री महिन्दा राजापाक्षे अहिलेसम्म पदमा बसेका छन्।

 

गोताबाया राजापाक्षेले विपक्षी दलका नेताहरुलाई सरकारमा सहभागी हुन आमन्त्रण गरेका छन्। तर, विपक्षी दलले त्यसलाई अस्वीकार गरेको छन्।

श्रीलंकाको आर्थिक अवस्थाको बारेमा संसद्‍मा बोल्दै समगी जनता बलवेगया पार्टी ९एसबीजे०का नेता प्रेमदासाले राष्ट्रपति राजापाक्षेलाई सीधा भनेका छन्,‘या त नेतृत्व गर्नुहोस्, वा छाड्नुहोस्।’

राजापाक्षेको राजीनामा दोहोर्‍याउँदै उनले देशको कार्यकारी राष्ट्रपति पद खारेज गर्न माग गरे। तर, राष्ट्रपति राजापाक्षेलाई पदबाट हटाउन अहिले विपक्षका लागि त्यति सजिलो छैन।

 

मुख्य विपक्षी पार्टी एसजेबी सँग ५४ सिट छ, विपक्षमा बसेका अन्य सबै दलको समर्थनमा पनि राजापाक्षेविरुद्ध ७० मत मात्र जुट्न सक्ने अवस्था छ। २२५ सदस्यीय सदनमा विश्वासको मत पारित गर्न विपक्षी दललाई सरकारका ४२ सांसदको समर्थन आवश्यक हुनेछ।

  • २७ चैत्र २०७८, आईतवार ११:२८ प्रकाशित