सुटुक्क युक्रेन पुगे जोन्सन : जेलेन्स्कीसँग गरे यी वाचा

केन्द्रभाग मिडिया

काठमाडौं ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सुटुक्क युद्धग्रस्त युक्रेनी राजधानी कीभ पुगेका छन् । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग १२० बख्तरबंद गाडी र नयाँ एन्टी–शिप मिसाइल प्रणाली प्रदान गर्ने वचन दिएका छन् । युक्रेनलाई थप सैन्य तथा आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिंदै जोन्सनले कुल ७७ करोड पाउण्ड बराबरको ऋण सहयोग दिने पनि बताएका छन् ।

युक्रेनमा लामो समयदेखि रुसले आक्रमण गरिराखेको छ । युक्रेनले पनि प्रतिरक्षाका लागि हमला गरिरहेको छ । यो लडाईमा बेलायत युक्रेनको साथमा रहेको जोन्सनले बताएका छन् ।

जोन्सन र जेलेन्स्कीको भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो ।

जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय सर्वसाधारणसँग पनि भेट गरेको दूतावासले जनाएको छ।

  • २७ चैत्र २०७८, आईतवार ०९:१७ प्रकाशित