पृष्ठभूमि ‘गुण्डा नाइके’ रहेका मन्त्री गुरुङ आफ्नो विगतलाई पछ्याइरहन्छन्

केन्द्रभाग मिडिया

पोखरा ।
मनाङ (ख) बाट सांसद निर्वाचित राजिव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा अदालतले गरेको फैसलाका कारण तत्काल शपथ लिन पाएनन्, बरु नौ महिना जेल बसे । त्यसपछि औपाचिरक रुपमा ‘माननीय सांसद’ बनेका उनी अहिले गण्डकी प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री छन् । तर, उनले माननीयको त्यो गरिमा सांसद र मन्त्रीहुँदा धुलिसात पारेका छन् ।

मनाङेले दुई वर्षअघि एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई पनि सार्वजनिक स्थलमै कुटेका थिए । गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप उद्घाटनका दिन ७ माघ ०७६ मा आयोजक समितिका कोषाध्यक्षसमेत रहेका गुरुङलाई उनले कुटेका थिए । त्यसपछि गुरुङले दिएको उजुरीका आधारमा ९ माघमा सांसद मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो । चार दिनपछि १२ माघमा जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार धरौटी लिएर मनाङेलाई तारेखमा छाडेको थियो ।

गत कार्तिकमा आफ्नो स्वकीय सचिवलाई कार्यबहाक दिएर उनले आफ्नो मन्त्री पदको गरिमालाई माटोमा मिलाए । उनी त्यतिमा मात्र रोकिएनन् । मंसिरको अन्त्यतिर आफ्नै मन्त्रालयका एक इमान्दार कर्मचारीलाई कुटपिट गरे । त्यतिबेला मन्त्रालयका सचिव र प्रदेशका प्रमुख सचिवले कुरा गरे । खासखुस भयो । अनि कुटपिटको विषयलाई भित्रभित्रै थापमथुम पारियो ।

मंगलबार फेरी उनले मन्त्रलयका प्रवक्ता समेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई कार्यकक्षमा बोलाएर कुटपिट गरेको सार्वजनिक भएको छ । स्वयम ओझाले भने यस विषयमा मुख खोलेका छैनन् । तर, मन्त्रालयका कर्मचारी भने त्रासमा देखिन्छन् ।
मन्त्रीको हर्कत नसुध्रिएको र आफूहरु मूकदर्शक बनेर बस्न बाध्य भएको एक कर्मचारीले बताए । ‘बोल्यो कि कुटाइ खाने पालो आउने चिन्ता हुन्छ । मंसिरमा कर्मचारी कुटेको विषय यसै सामसुम पारियो । अहिले पनि के कारबाही होला र ! ’ ति कर्मचारीले डर मिश्रित प्रश्न गरेका छन् ।

यता मन्त्री गुरुङले भने आफूले सम्झाउँदा कुटेको आरोप लागेको दाबी गरेका छन् । उनले ‘मैले सम्झाएको मात्र थिएँ । कुट्यो भनेछ । अब आयोग बनाएर छानविन गराउँछु । यो अब जेल जान्छ । मैले कर्मचारी हो ठिकै छ भनेको थिएँ । अब यत्तिकै छाड्दिन’ भनेका छन् ।

वर्तमान सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका  मनाङे  के कारबाहीमा पर्लान ?

दिपक मनाङे गण्डकीमा सरकार ढाल्ने र बनाउने शक्ति मानिन्छन् । उनले गण्डकी प्रदेशमा तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता दुईपटक जोगाए । त्यसवापत् उनी दुईपटक युवा तथा खेलकुदमन्त्री बनाइएका थिए ।

वर्तमान कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार निर्माणमा उनको निर्णायक भूमिका रह्यो । उनले कित्ता परिवर्तन नगरेको भए वर्तमान सरकार गठन नै कठिन थियो । यस्तो भूमिका खेलेका आफ्नो मन्त्री परिषद्का सदस्य गुरुङलाई मुख्यमन्त्री पोखरेलले कस्तो कारबाही गर्लान ? या यसरी नै छाडा छोड्लान ? भन्ने प्रश्न उठेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मन्त्रीको विषयमा सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमा रहेको बताउँन् । ‘क्याविनेटको सदस्य भएकाले माननीय मन्त्रीज्यु (मनाङे)को विषयमा मुख्यमन्त्री ज्युले नै केही निर्णय गर्नुहुन्छ । मन्त्रीले आफूले सम्झाएको बताउनुभएको र कुटाइ खाएका भनिएका कर्मचारीले सम्पर्क नगरेकाले यस विषयमा म यसै भन्न सक्दिन । यस विषयमा मुख्यमन्त्री ज्युले दुबै पक्षलाई राखेर निकास निकाल्छु भन्नु भएको छ’ उनले भने ।

  • २४ चैत्र २०७८, बिहीबार ०८:३१ प्रकाशित