प्रधानमन्त्री र मन्त्रीले पनि भोट माग्न नपाउने : कसका लागि कस्तो आचारसंहिता ?(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचन आउन अब जम्मा ३७ दिन बाँकी छ ।

निर्वाचन आयोगले आसन्त स्थानीय तहको निर्वाचनमा कसलाई कस्ता खालको आचारसंहिता लागु हुने भनि सूची सार्वजनिक गरेको छ । आयोगले जारी गरेको आचारसंहिता अनुसार निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरुले पनि भोट माग्न पाउनेछैन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने व्यवस्था गरेको हो ।

कसका लागि कस्तो आचारसंहिता ?

आयोगले आचारसंहिताको दफा–३ मा आचारसंहिता कस–कसका लागि लागू हुने भन्ने व्यवस्था गरेको छ । आयोगले जारी गरेको आचारसंहिता सरकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, उम्मेदवार र मतदाता तथा आयोग स्वयम् सम्म पनि लागू हुन्छ ।

आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार र दुवै सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, प्रदेश सरकार निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीलाई आचारसंहिता लागू हुनेछ ।

त्यस्तै, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा दलको भ्रातृ संगठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी र सञ्चारकर्मीलाई आचारसंहिता लाग्छ ।

आचारसंहिताको दफा–३ मा उल्लेख आचारसंहिता लागू हुने व्यक्ति र संस्थाले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा भोट माग्न वा प्रचार गर्न, सार्वजनिक सरकारी सम्पत्ति र सरकारी स्थान वा भवनहरूको उपयोग गर्न पाउदैनन् ।

आयोगले निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामाग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेको सामाग्री शेयर गर्न नपाइने उल्लेख गरेको छ ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर समेत बनाउन पाइदैन ।

पार्टी वा उम्मेदवारले कुनै पनि राजनीतिक गतिविधि वा प्रचार सामाग्री राख्न सम्बन्धित घररजग्गाधनीको स्वीकृति लिनुपर्नेछ भने त्यस्तो गतिविधि गर्दा कसैको मानहानि हुने वा चरित्र हत्या हुने गरी गर्न वा गराउन नहुने व्यवस्था छ ।

प्रचारमा बालबालिकालाई प्रयोग गर्न नहुने, प्रचार गतिविधि वा आमसभाका कारण सार्वजनिक आवागमनमा अवरोध गर्न नपाइने तथा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न नपाइने र कसैको बारेमा पनि भ्रामक टिकाटिप्पणी गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहित हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • २३ चैत्र २०७८, बुधबार १४:४९ प्रकाशित