फेवा तालको ३० मिटर मापदण्ड तोकेको महानगरले अन्य तालको पनि मापदण्ड घटायो

केन्द्रभाग मिडिया

पोखरा  ।

पोखरा महानगरपालिकाले फेवातालकोे मापदण्ड ३० मिटर तोकेको छ । बुधबार बसेको महानगरको ५५ औँ कार्यपालिका बैठकले  तालको मापदण्ड तोकेको हो ।  सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको महानगरले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकेको हो ।

गएको माघमा महानगरले वडानम्बर १७ का अध्यक्ष तिर्थराज अधिकारीको संयोजकत्वमा ८ सदस्यीय मापदण्ड अध्यन समिति गठन गरेको थियो । सर्वाेच्चले २०७५ वैशाख १६ गते गरेको फैसलामा मापदण्ड ६ महिनाभित्र तोक्न भनेको थियो ।

तालको ६५ मिटर कुनै भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्न सर्वोच्चको फैसला थियो । तर महानगरबाट गठित समितिले भने ३० मिटको मापदण्ड तोकेको छ । २०७५ बैशाख १६ मा न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको इजलासले ताल संरक्षणको सम्बन्धि निर्देशनात्मक फैसला गरेको थियो ।

समितिका संयोजक अधिकारीले अहिलेसम्मका अध्यन प्रतिवेदन र सर्वोच्चको फैसलाका आधारमा मापदण्ड सिफारीस गरिएको बताए ।
यस्तै, कार्यपालिका बैठकले अन्य तालको पनि मापदण्ड तोकेको छ । महानगरले बेगनास र रुपातालको मापण्दड ५५ मिटर कायम गरेको छ । यस पहिले यी तालहरुको मापदण्ड १ सय मिटर तोकेको थियो । तर स्थानीयलाई असर पर्ने भन्दै ५५ मिटरमा झारिएको हो ।

अरु साना तालको मापदण्ड भने २० मिटर कायम गरिएको महानगर प्रवक्ता धन बहादुर नेपालीले जानकारी दिए । योसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

 

  • १७ चैत्र २०७८, बिहीबार ११:४४ प्रकाशित