इजरायलमा बन्दुकधारीको आक्रमणमा थप ५ जना मारिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

इजरायलमा एक हप्तामै तेस्रोपटक आक्रमण भएको छ । तेल अभिभको बाहिरी भागमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोलाबारीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर मारेको बताइएको छ। इजरायली अरबहरूले गत मंगलबार र आइतबार हिंसात्मक हमला गरेपछि इजरायलका सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका थिए । ती घटनाहरूमा ६ जना मारिएका थिए ।

घटनास्थलबाट प्राप्त भिडियोमा कालो कपडा लगाएका बन्दुकधारीले प्वाइन्ट ब्ल्याङ्क रेञ्जमा कारमाथि अन्धाधुन्ध गोली चलाएको देख्न सकिन्छ ।

घटनालगत्तै इजरालयका प्रधानमन्त्री नाफताली बेनेटले आपत्कालीन सुरक्षा बैठक बोलाएका थिए भने बुधबारका लागि क्याबिनेट बैठक पनि डाकिएको छ ।यहुदीहरूको बाक्लो बस्ती रहेको बनेई क्षेत्रमा यो घटना भएको बताइएको छ ।

  • १६ चैत्र २०७८, बुधबार १०:३४ प्रकाशित