कांग्रेसले आज संसदीय समिति र गठबन्धनबारे निर्णय गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसले आज संसदीय समिति र निर्वाचनमा हुने गठबन्धनबारे निर्णय लिदैछ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज बस्ने बैठकले पार्टीको संसदीय समिति गठन गर्ने र गठबन्धनबारे सैद्धान्तिक निर्णय लिने जानकारी दिए । उनले बैठकमा केही फरक मत आएपनि आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने निर्णय हुने बताएका छन् ।

प्रवक्ता महतले भने, ‘हिजोसम्म सबैले धारणा राख्ने क्रम सकियो । अधिकांश नेताहरूले गठबन्धन गरेरै चुनावमा जानुपर्ने सुझाव दिनुभएको छ । बैठकमा केही फरक मत आएका छन् । तर धेरै जना साथीहरूको धारणालाई ध्यानमा राख्दै आवश्यकताको आधारमा गठबन्धन गरेर जाने निर्णय हुन्छ ।’

कांग्रेस स्रोतका अनुसार माओवादी सहितको चुनावी गठबन्धनको विषयलाई लिएर सोमबारको बैठकमा सभापति शेरबहादुर देउवा र उनीनिकट नेताहरूले जसरी पनि अहिले गठबन्धन आवश्यक रहेको तर्क पेस गरेका थिए नेता शेखर कोइराला र उनीनिकट नेताहरूले गठबन्धन गर्न नपर्ने तर्क राखेका थिए । शुक्रबार र आइतबारका बैठकमा केन्द्रीय सदस्यहरू र चुनावी अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले ग्राउण्डको अवस्था बिफ्रिङ गरेका थिए । त्यो सुनेपछि सोमबार पार्टीका पदाधिकारी र सिनियर केन्द्रीय सदस्यहरूको बोल्ने पालो थियो । सभापति देउवा पहिल्यैदेखि गठबन्धनको पक्षमा थिए भने कोइराला विपक्षमा रहँदै आएका थिए ।

बैठकमा सहभागी नेताका अनुसार नेता शेखर कोइरालाले अहिले चुनावी गठबन्धन किन गर्ने, केका लागि गर्ने भन्ने प्रश्न उठाएका थिए । कोइरालापछि केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाँणले बोलेका थिए । कोइरालाको प्रश्नको जवाफमा गृहमन्त्री खाँणले गठबन्धन गर्ने कुरा सत्ता गठबन्धन बन्नुभन्दा अगावै सहमति भइसकेको विषय भएको दाबी गरे । उनले शक्ति केन्द्रहरूले कम्युनिष्टहरूलाई मिलाउन खोजिरहेको सूचना आफूलाई प्राप्त भएको भन्दै सजग हुनुपर्ने बताएका थिए ।

सभापति देउवाले कोइरालाको केन्द्रले निर्णय गर्दा कार्यकर्ताले मानेनन् भने के हुन्छ भन्ने प्रश्नको जवाफमा कांग्रेसमा अन्तरघात पुरानै रोग भएको बताएका थिए । बैठकमा नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि गठबन्धनको पक्षमा बोले । सहमहामन्त्रीहरूले पनि विभाजित रूपमै मत राखेका थिए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समेत मत बाझियो । थापा प्रस्ट गठबन्धनको विपक्षमा उभिए भने शर्माले गठबन्धन गर्नैपर्ने अवस्था नभए पनि चुनावी नतिजा प्राप्त गर्ने गरी कसैलाई साथ लिनुपर्ने भन्दै घुमाउरो रूपमा गठबन्धनको पक्षमा । त्यस्तै, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले पनि पक्ष र विपक्षमा मत राखे ।

बैठकमा उपसभापति खड्काले एकताबद्व रूपमा गठबन्धन गरेर चुनावमा जानुपर्ने धारणा राखे भने महामन्त्री शर्माले कांग्रेसलाई थप बलियो बनाउन गठबन्धन गर्नुपर्ने बताएका थिए । तर, कोइराला पक्षका उपसभापति गुरुङ र महामन्त्री थापाले भने गठबन्धन गरेर भन्दा पनि एजेन्डाले चुनाव जित्न सकिने तर्क राखेका थिए ।

सोमबारको बैठकमा पदाधिकारीबाहेक केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बलबहादुर केसी, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महिलामन्त्री उमा रेग्मी, पद्मनारायण चौधरी, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खााण, सुशीला थिङ र गणेश लामाले धारणा राखेका थिए ।

 

  • १५ चैत्र २०७८, मंगलवार ०९:२१ प्रकाशित