गण्डकीका विद्यालयमा टाइफाइडविरुद्ध खोप अभियान

केन्द्रभाग मिडिया

 स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ । यहि चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको निर्देशनालयले जनाएको छ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

खोप योजनाका लागि प्रदेशस्तरीय योजना तथा प्रशिक्षण सम्पन्न भएर ११ जिल्लामै खोप लगाउने स्वास्थ्यकर्मीको तालिम चैत १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको हो । एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने निर्देशनालयले जनाएको छ।

चैत २० गतेभित्र प्रदेशमा खोप आइपुग्ने भएकाले २१ देखि २३ गतेसम्म खोप सबै जिल्लामा पुगिसक्ने बताइन्छ ।यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने निर्देशनालयले जनाएको छ ।

प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको छ।

  • १४ चैत्र २०७८, सोमबार १३:३१ प्रकाशित