काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने समय थप गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा कक्षा ११ भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने १२ कक्षाको वार्षिक परीक्षाको आवेदन फाराम तोकिएको समयमा बुझाउन छुटेका विद्यार्थीहरूका लागि फाराम बुझाउने म्याद थप गरेको हो ।
कक्षा ११ को रजिस्ट्रेशन फारम र १२ को परीक्षा फाराम चैत १६ गते भित्र भरेर सम्बन्धित विद्यालयमार्फत बोर्डका कार्यालयहरूमा फाराम बुझाउने गरी म्याद थप गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फारामवापत प्रतिविद्यार्थी ८ सय शुल्क तिरेर फारम बुझाउन सकिने बताएको छ ।
कक्षा १२ (नियमित तथा आंशिक र ग्रेडवृद्धि) र कक्षा ११ (आंशिक र ग्रेडवृद्धि मात्र) को वार्षिक परीक्षाको आवेदन फाराम तोकिएको समयमा बुझाउन छुट भएका विद्यार्थीहरूका लागि २०७८ चैत १६ गतेभित्र दोब्बर दस्तुर तिरेर फारम बुझाउन सकिने छ । त्यसका लागि परीक्षा आवेदन फाराम वापत प्रति विद्यार्थी १२ सय बुझाउनुपर्ने छ ।