पेट्रोलको मूल्य अहिले सम्मकै उच्च: यस्तो छ नयाँ मूल्यसूची

केन्द्रभाग मिडिया

काठमाडौँ।

सर्वसाधरणको ढाड सेक्ने गरि बढिरहेको पेट्रोलको मूल्य फेरि उकालो लागेको छ । इन्डियन आयल कर्पोरेशन आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै रु १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट रु पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ ।

सो अवधिमा पेट्रोलको बिक्रीबाट एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट रु एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टितेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय) बाट  १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरण भने हुन सकेको छैन ।

  • २ चैत्र २०७८, बुधबार १५:५२ प्रकाशित