आफन्त नभएका जेष्ठ नागरिकको सम्पूर्ण दायित्व सरकारले लिन्छ : मन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कोही आफन्त नभएका जेष्ठ नागरिकको सम्पूर्ण दायित्व प्रदेश सरकारले लिने बताएका छन् । पोखरा बृद्धाश्रमको रजत जयन्ति उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।

जेष्ठ नागरिकका सिप, अनुभव र ज्ञानलाई सम्पत्तिको रुपमा लिएर नयाँ पुस्ताले काम गर्नुपर्नेमा उनले जोड दिए । ‘सर्वप्रथम जेष्ठ नागरिकलाई घरमै सन्तानसंग बस्ने र रमाउने वातारण हुनुपर्छ । मन बहलाउने र आफ्ना आफन्तसंग भेटघाट हुने अवसर प्राप्त हुनुपर्छ । जसका सन्तान छैनन्, उहाँहरुको सम्पूर्ण दायित्व सरकारले लिन्छ । उहाँहरुको अनुभव, सिप र ज्ञान सन्तान, समाज र देशका लागि अमूल्य हुन्छ’ उनले भने ।

मन्त्री श्रेष्ठले बृद्धाश्रमको नाम बदलेर जेष्ट नागरिक केन्द्र राख्नुपर्नेमा जोड दिए । उनले जेष्ठ नागरिक केन्द्र टोल टोलमा खोल्नुपर्छ भन्ने मान्यतामा सरकार रहेको बताए । ‘बृद्धाश्रम भन्ने वित्तिकै कता कता उहाँहरु (बृद्धबृद्धा)ले अल्लि फरक सोच्नुहुन्छ । उहाँहरुको सम्मानमा ठेस लागेजस्तो हुन्छ । त्यही भएर यसको नाम बदलौं । जेष्ठ नागरिक दिवा केन्द्र र जेष्ठ नागरिक केन्द्र टोल टोलमा खोलौं भन्नेमा सरकार छ’ उनले भने ।

मन्त्री श्रेष्ठले अहिलेको समय बोल्ने भन्दा पनि काम गरेर देखाउने समय रहेको भन्दै सरकारले देखिनेगरी जेष्ट नागरिक, युवा, महिला, बालबालिका र अपांगता भएको क्षेत्र लगायतकका क्षेत्रमा कामको सुरुवात गरेको उनको दाबी गरे ।

जेष्ठ नगरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले जेष्ट नागरिकलाई घरमै सम्मान पूर्वक राख्ने वातावरण बनाउन सरकारले कानूनी रुपमै बाध्यकारी व्यवस्था गर्नुपर्ने धारणा राखे । आनन्द सेवाश्रमका अध्यक्ष डा. यज्ञमान साक्यले बृद्धबृद्धालाई बोझको रुपमा लिन नहुने बताए ।

  • १ चैत्र २०७८, मंगलवार २०:०८ प्रकाशित