काठमाडौं ।
विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने र दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्न रुसी सेना पठाउने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । रुसले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र भन्दै आएको छ ।
रुसको पछिल्लो कदमले युक्रेनमा रुसी सेना प्रवेश गर्ने आधार तयार भएको भन्दै अमेरिकासहित अन्य पश्चिमा देशहरुले रुसको आलोचना गरिरहेका छन् ।
रुसी कदमको संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पनि आलोचना गरेका छन् । संयुक्त राष्ट्रसंघले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेको छ । न्युयोर्कमा युक्रेन संकटबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक समेत बस्दैछ ।