विश्वमै पहिलो पटक मानिसको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण !

केन्द्रभाग मिडिया

एजेन्सी ।

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ ।

अमेरिकाका डेभिट बेनेट नामका ५७ वर्षीय व्यक्तिमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएको बीबीसी नेपालीले उल्लेख गरेको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो ।

मुटु प्रत्यारोपण गरिएका बेनेटले आफू बाँच्न सक्ने आशा व्यक्त गरेका छन् ।

युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका चिकित्सकका अनुसार मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो । तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको चिकित्सकले बताएका छन् । प्रत्यारोपणपछि बेनेट अहिले स्वस्थ रहेको बीबीसीले जनाएको छ ।

‘यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम उपाय थियो । यद्यपि अब उनी कति लामो समयसम्म बाँच्न सक्छन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन,’ बीबीसीले लेखेको छ ।

अपरेशन गर्नुअघि बेनेटले भनेका थिए– यो प्रत्यारोपण ‘बाँच या मर’ भनेजस्तै थियो । उनले भनेका छन्, ‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो तर यो अन्तिम मौका थियो ।’

यदि बेनेटको यो अपरेशन नगरेको भए उनी मर्ने थिए । त्यसैले युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामकले यो काम गर्नका लागि विशेष छुट दिएको थियो । यो प्रत्यारोपण गर्ने मेडिकल टिमले धेरै वर्ष अगाडिदेखि यसबारे अनुसन्धान गरेको थियो ।

प्रत्यारोपण सफल भएपछि युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरले सर्जन बार्टले पी ग्रिफिथलाई उद्धृत गर्दै भनेको छ– यो अपरेशन विश्वमा अंगको संकट समाधानमा एक कदम नजिक ल्याएको छ ।

  • २७ पुष २०७८, मंगलवार १०:०९ प्रकाशित