काँग्रेसको महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न संस्थापन ईतर समूहको वैठक

केन्द्रभाग मिडिया

पोखरा । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर समूहले आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न छलफललाई तीव्र बनाएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले इतर समूहबाट साझा उम्मेदवार तय गर्न मंगलबार सभापति पदका आकांक्षीहरुलाई छलफलका लागि बोलाएका छन्।

पौडेल निवास बोहराटारमा मंगलबार दिउँसो जारी बैठकमा सभापतिमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको छ।
‘सभापतिका आकांक्षी धेरै देखिनुभएको छ। सहमतिमै उम्मेदवार तय गर्ने विषयमा छलफल गरिरहेका छौँ,’ बोहोराटार बैठकमा सहभागी एक नेताले जानकारी दिए।

उनले तल्लो तहको अधिवेशन सुरु हुनुभन्दा अगाडि नै उम्मेदवार तय गर्ने सम्भावना रहेको पनि जानकारी दिए।
बैठकमा पौडेलसँगै महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीहरु डा। रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरु बलबहादुर केसी र डा। शेखर कोइराला सहभागी छन्।

यसअघि भदौ ७ गते पनि संस्थापन इतर समूहले साझा उम्मेदवार तय गर्ने विषयमा छलफल गरेको थियो।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले पार्टीको वडा अधिवेशन सुरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी जुटाएको थियो।

कांग्रेसले आगामी भदौ १८ गते वडा अधिवेशन गर्ने भएको छ। वर्तमान सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट दोहोरिने रणनीति बनाएपछि वरिष्ठ नेता पौडेलसहितका नेताहरु आन्तरिक छलफल गरिरहेका छन्।

आकांक्षीहरु धेरै हुँदा पौडेल समूहलाई महाधिवेशनमा उम्मेदवार टुंगो लगाउन कठिन भएको छ। कांग्रेसले आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

 

  • १५ भाद्र २०७८, मंगलवार १६:०४ प्रकाशित