सर्वदलीय बैठकमा एमसीसीबारे विरोधको आवाज भारी, कस्ले के भने ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी शीर्ष नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट नभई अनुमोदन गर्न नसकिने बताएका छन् ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे दलहरुको धारणा मागेका थिए । सो क्रममा सुवालले स्पष्ट रुपमा एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई पारित गर्न नहुने धारणा राखेका थिए ।

‘‘संंसद अवरोध र एमसीसीबारे तपाईँहरुले बोलिदिनु पर्यो भनेर प्रधानमन्त्रीजूले भन्नुभयो ।’ उनले भने, ‘त्यसपछि हामीले धारणा राख्यौ ।’ नेमकिपाको तर्फबाट सुवालले एमसीसीको दफा ४.२ मा एमसीसीले सहायक उपाध्यक्षलाई एसिया प्यासिफिकका लागि अतिरिक्त प्रतिनिधि नियुक्ति गर्ने भनेर उल्लेख गरिएको विषय राखेका थिए । नेता सुवालका अनुसार सर्वदलीय बैठकमा एमसीसीबारे विरोधको आवाज भारी बनेको छ ।

देउवाले राखेको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समर्थन जनाउँदै राष्ट्रिय सहमति बनाएर एमसीसी लागू गर्नुपर्ने बताएका थिए । कांग्रेस नेताहरू रामचन्द्र पौडेल, पूर्वअर्थमन्त्री रामशरण महतलगायतले त्यही विषयमा समर्थन जनाएका थिए । तर, अन्य दलका नेताहरूले भने एमसीसीका विषयमा अझै प्रस्ट नभई त्यसलाई संसद्‌मा पेस गर्ने वा अनुमोदन गर्ने वा नगर्ने विषयमा धारणा बनाउन नसकिने बताएका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा उत्पन्न विभिन्न संशयहरूमा स्पष्ट नभई त्यसलाई अघि बढाउन नमिल्ने बताएका थिए । ‘हामीले सत्ता गठबन्धनमा पनि छलफल गर्दै आएका छौं, यसबारे थप स्पष्ट हुनुपर्ने अवस्था छ । कतिपय व्यवस्थाहरू हाम्रो राष्ट्रिय हितविपरीत छन् भने त्यसमा संशोधन गरेर अघि बढाउनुपर्छ,’ प्रचण्डले भनेका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसीसीमाथि उत्पन्न संशयहरूबारे स्पष्ट भएपछि मात्रै त्यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने धारणा बनाउन सकिने बताएका थिए ।

बैठकमा कांग्रेसबाट नेता पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वमन्त्री महत, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष भट्टराई, संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव बेदुराम भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र सर्वेन्द्रनाथ शुक्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विर्खबहादुर तामाङ, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट र नेमकिपाका महासचिव प्रेम सुवाल सहभागी थिए ।

  • ४ पुष २०७८, आईतवार १८:५४ प्रकाशित