प्रधानमन्त्रीले बोलाएको शिर्ष बैठकमा कांग्रेसबाट गगन थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित महामन्त्री गगन थापालाई सर्वदलीय बैठकमा सहभागी गराएका छन् । प्रधानमन्त्री देउवाले आजका लागि बोलाएको सर्वादलीय बैठकमा उपसभापति पूर्णबहादुर खड्का र गगन थापालाई लिएका छन् ।

कांग्रेसमा प्रष्ट बक्ताको रुपमा परिचय बनाएका थापा सबैभन्दा बढि मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए । युवा पुस्ताबाट महत्वपूण जिम्मेवारी पाएका थापालाई शीर्ष बैठकमा सहभागी भए पछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ । थापा पहिलोपटक सर्वदलीय शीर्ष बैठकमा सहभागी भएका हुन् ।

यसअघिका शीर्ष बैठकमा नेपाली कांग्रेसबाट अन्य नेता सहभागी हुने गरेकोमा यसपटक थापा पनि उपस्थित भएका हुन् । सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल पनि बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बैठक बस्न ढिला भएको भन्दै बालुवाटारबाट निस्केका छन् ।

बैठकमा संसदमा जारी गतिरोध र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

  • ४ पुष २०७८, आईतवार १७:२६ प्रकाशित