भारतको केरलामा दुई नेताको हत्या

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको केरला राज्यमा दुई नेताको हत्या भएको छ । १२ घण्टाभित्र भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी एसडीपीआई का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

राति घर जाने क्रममा चक्कु प्रहार गरी शानको हत्या गरिएको थियो । कारमा आएको एक समूहले शान चढेको मोटरसाइकललाई हिर्काएपछि उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते उनलाई तत्कालै कोची अस्पतालमा लगिएको तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आइतबार बिहान मर्निङ वाकका लागि बाहिर निस्कने तयारी गरिरहेका बेला श्रीनिवासनको हत्या भएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

  • ४ पुष २०७८, आईतवार १६:५३ प्रकाशित