दुवै मात्रा खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबवडी विकास

केन्द्रभाग मिडिया

पोखरा । कोरोना भाइरसविरूद्धको खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक सर्वेक्षणले देखाएको छ।

मन्त्रालयले २०७८ साल असार २१ गतेदेखि साउन ३० गतेसम्ममा संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गर्दा दुबै मात्रा खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी देखिएको हो।

पहिलो मात्रा खोप लगाउनेमध्ये पनि ८० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको पाइएको हो। जसले गर्दा अहिले लगाइरहेका खोपहरू अत्यन्त प्रभावकारी रहेको मन्त्रालयको ठहर छ।

देशभरिबाट संकलित गरिएको उक्त नमूनामध्ये ६८।६ प्रतिशत नमूनामा एन्टिबडी देखिएको छ।
मन्त्रालयले सातै प्रदेश र हिमाल, पहाड, तराई, गाउँ, सहर लगायत सबै लिंग, उमेर, पेशा तथा समूहका मानिसहरूको नमूना संकलन गरेकोमा ती सबै समूहका मानिसहरूमा एन्टिबडी विकास भएको पाइएको हो।

तर भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने हुँदा संक्रमणबाट बच्नलाई भौतिक दूरी कायमलगायत आवश्यक सावधानी अपाउन मन्त्रालयको आग्रह छ।
संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण भएमा स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गराउन मन्त्रालयको अनुरोध छ।

 

  • १४ भाद्र २०७८, सोमबार १२:३२ प्रकाशित