एमाले र जसपा जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्मको समय सीमा

केन्द्रभाग मिडिया

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी ९जसपा०बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समय दिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको जानकारी दिए । दल रोज्न भदौ २२ गते कार्यालय समयभित्र सम्पर्क गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।

सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ गते प्रमाणिकरण गरेकी थिइन्। राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गर्नु गर्नु भएपछि नेकपा एमाले र जसपा विभाजन भएको थियो ।
एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रि समाजवादी दल बनेको छ । निर्वाचन आयोगले दुवै दललाई यही भदौ ९ गते मान्यता दिएको थियो ।

जारी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगको आइतबार बसेको बैठकले यही भदौ २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सो समयभित्र एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी र लोसपामा प्रवेश गर्न चाहेमा २२ गतेसम्म सनाखत गर्नुपर्ने बताए ।
प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने हुन्छ । सनाखतका लागि जाँदा सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा–स्थानीय तहबाट जारी परिचयपत्र वा प्रमाणपत्र सँगै लैजानुपर्ने आयोगका प्रवक्ता श्रेष्ठले बताए ।

  • १३ भाद्र २०७८, आईतवार १६:५० प्रकाशित