यूकेमा नर्स पठाउँदा देशलाई घाटा : यस्ता छन् बेफाईदा !

केन्द्रभाग मिडिया

यूकेमा नेपाली नर्स ठुलो संख्यामा पठाउँदा देशलाई घाटा पुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।देशका दक्ष जनशक्तिलाई बाहिर पठाउँदा नेपाललाई घाटा पुग्ने उनीहरुको भनाई छ ।

यूकेले ठुलो संख्यामा नर्सको माग गरेको छ । नेपाली नर्सहरुलाई पनि रोजगारीका लागि यूके पठाउनेबारे प्रारम्भिक पहल भईरहेको छ । नर्सहरु पनि रोजगारीका लागि यूके जान पाउने बाटो खुलेसँगै उत्साहित छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले चाहिँ अबको दुई महिनाभित्र नर्सहरू पठाउन सुरु गरिसक्ने बताएका छन्।मन्त्री कृष्णकुमार श्रेष्ठले भने,‘स्टाफ नर्सको कुरा अघि बढेको छ। दुई चरण कुराकानी भइसकेको छ। लगभग दुई महिना भित्रमा यूकेमा नर्स पठाउन सुरु गर्छौँ।’

तर यससम्बन्धी वार्तामा सहभागी एक अधिकारीले अझै धेरै प्रक्रियागत कुराहरू मिलाउन बाँकी रहेको बताएका छन्।यूकेले नेपालबाट नर्सहरू लाने चासो व्यक्त गरेर त्यसै अनुसार प्रस्ताव अघि बढाएको सरकारी अधिकारीहरूको भनाइ छ।

प्रस्ताव अनुसार सरकारी स्तरबाटै शून्य लागतमा नेपाली नर्सहरूले वैदेशिक रोजगारीका लागि यूके जान पाउनेछन्।तर केही विज्ञहरूले यसले नेपालको स्वास्थ्य क्षेत्रलाई नराम्रो असर पार्ने बताइरहेका छन्।

नर्सलाई विदेश पठाउँदा नेपाललाई केही फाइदा र केही बेफाइदा हुने अधिकारीहरु बताउँछन् ।नेपाली नर्सहरुले यूके जाने अवसर पाउँदा राम्रो आम्दानी गर्छन् । नेपालको तुलनामा निकै राम्रो आम्दानी गर्न सक्छन् ।

नर्सहरु विदेश जाँदा नेपालको रेमिट्यान्स आम्दानीमा योगदान पुग्छ ।उनीहरुले विकसित देशमा काम गर्दा दक्षता र क्षमता र सीप अभिवृद्धि हुने विज्ञहरुको धारणा छ ।

यस्तै नर्सहरु विदेशिदाँ नेपालमै नर्सको अभाव हुनसक्ने चिन्ता पनि छ ।महामारीका बेला नेपालमै पनि नर्स अभाव हुनसक्ने भन्दै कतिपयले विदेश नपठाउन सुझाव दिएका छन् ।

नेपालमा विशेषज्ञ सेवाको अभाव हुनसक्ने, विदेशबाट नर्स ल्याउनु पर्ने अवस्था आउनसक्ने,अपेक्षा गरेअनुसार रेमिट्यान्स आउन नसक्ने जस्ता कुराहरु बेफाइदा रहेको छ।

नेपाल नर्सिङ परिषद्का अनुसार हालसम्म नेपालबाट विभिन्न माध्यमबाट २५,००० जति नर्सहरू विदेश गइसकेका छन्।

  • २२ मंसिर २०७८, बुधबार १५:४६ प्रकाशित