काठमाडौँ ।
संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास भइरहेको छ । समूहका नेता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तेस्रो धारका कृष्णप्रसाद सिटौलासँग छलफल अगाडी बढाएका छन् ।
पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । उनले समूहमा सिटौलालाई पनि जोड्ने प्रयास गरेका छन् ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डको भेलाबाट निस्किएर पौडेल सीधै विशालनगरस्थित सिटौलाको निवासमा पुगेका हुन् । सो भेटमा पौडेलले नेतृत्व परिवर्तनका लागि मिलेर जान प्रस्ताव राखेको बताइएको छ ।
सिटौलाले भने आफु छलफलमा रहेको जवाफ दिएका छन् । महाधिवेशन नजिकिँदै गर्दा सिटौला समूह पनि छलफलमा जुटेको छ।
आजको छलफलबाट सिटौलाले आफैंले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ। सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्ने निश्चित जस्तै देखिएको छ ।
पौडेल पक्षका सभापतिका चार आकांक्षीहरूबीच सोमबार छुट्टै छलफल भएको थियो । मंगलबार चाक्सीबारीस्थित नेता सिंहको निवासमा आकांक्षी नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । बुधबार नै पौडेल समूहले साझा उम्मेदवार खडा गर्नेगरी छलफल अगाडि बढाएको छ ।