पोखरा ।
कांग्रेस गण्डकी प्रदेस समितिको नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ । एक सय मत गणना गर्दा सभापतिका प्रतिस्पर्धी दुबै जनाले बराबर मत ल्याएका छन् ।
पौडेल समूहको तर्फबाट सभापतिका उम्मेद्वार रहेका शुक्रराज शर्माले ५० र देउवा समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका अर्जुन जोशीले पनि ५० मत नै ल्याएका हुन् ।
कुल एक हजार एक सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।
शर्मा र जोशी प्यानलसहितको प्रतिस्पर्धामा छन् । सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको प्रतिस्पर्धा छ ।
जोशी प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत, शर्माको प्यानलबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी प्रतिस्पर्धामा छन् ।
महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र ईश्वर पाण्डे, शर्मा प्यानलबाट किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने प्रव्तिस्पर्धा गरेका छन् । सहमहामन्त्री महिलातर्फ जोशी प्यानलबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।
सहमहामन्त्री दुई जनाका लागि जोशी प्यानलबाट राजनराज पन्त र झलबहादुर आले, शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे प्रतिस्पर्धामा छन् । सहमहामन्त्रीमा प्यानल बाहिरबाट युवराज बास्ताकोटी र गणेश सापकोटा प्रतिस्पर्धामा छन् ।