आफू माथि प्रश्न उठेपछि प्रधान न्यायाधीश राणाले इजलाश छाडे

केन्द्रभाग मिडिया

पोखरा । आफू समेत विपक्षी रहेको रिटको सुनुवाइका लागि इजलासमा बसेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि प्रश्न उठेपछि उनले इजलास छाडेका छन्।

प्रधानन्यायाधीश राणा अब यो रिटको सुरु र अन्तिम पेशीमा नबस्ने सर्वोच्च अदालत श्रोतले जनाएको छ।
आफूमाथि प्रश्न उठेपछि इजलासबाट बाहिरिएर छलफल गरेका न्यायाधीशहरुले अन्तिम सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने जानकारी गराएका हुन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा बस्न नमिल्ने रिट निवेदकले माग गरेका थिए।
अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश समेत विपक्षी रहेको भन्दै उनी इजलासमा बस्न नमिल्ने भनेपछि केहीबेर इजलासमा चर्काचर्की चलेको थियो।

आफू संवैधानिक दायित्वका कारण संवैधानिक परिषदको बैठकमा बसेको भन्दै प्रधानन्यायाधीश भएका कारण इजलासबाट पनि नबाहिरिने बताएका थिए।
तर संवैधानिक इजलासका अन्य न्यायाधीशसँगको छलफलपछि उनले बाहिरिने निर्णय लिएका हुन्। उनको अनुपस्थितिमा अब पेशी तोक्ने र इजलासको नेतृत्व वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले गर्नेछन्।

संवैधानिक इजलासमा राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।

 

  • ११ भाद्र २०७८, शुक्रबार १५:४१ प्रकाशित