भीषण वर्षाका कारण नवलपरासीको परासी वजार डुवानमा

केन्द्रभाग मिडिया

पोखरा । केही दिनदेखिको निरन्तर वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ।

परासीहुँदै बगेको झरही र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो। बजारको अधिकांश स्थान जलमग्न भएको छ। बजारका सयौं घर डुबानमा परेका छन्।

डुबानले परासी बजार रामग्राम नगरपालिकाको वडा नम्बर– १ को सहुवाटिकर, वडा नम्बर–२ को मस्जिदटोल, हाटबजार टोल, वडा नम्बर ३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नम्बर–५ को प्रशासनटोल ड्राइभटोल, इमलीटोल, बुद्ध चोक टोल र वडा नम्बर–६ पोखरापाली टोल डुबानमा परेको नगर प्रमुख नगेन्द्र गुप्ताले बताए।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयमा पनि २ देखि ५ फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए। सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ता कपडा, फर्निचरलगायत सामानमा क्षति पुगेको छ।

वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्याएको क्षतिको विवरण संकलन गर्न नसकिएको डीएसपी लामाले बताए। जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका र बर्द्घाट नगरपालिकाका केही वडा पनि जलमग्न भएको छ ।
बाढीले पूर्वपश्चिम राजमार्गको ठाउँ–ठाउँमा सडक अवरुद्ध छ ।

त्यस्तै बुधबारदेखि परेको अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा देवदहका अधिकांश भूभाग डुबानमा परेका हुन् ।

भैरहवासहित जिल्लाको दक्षिणी क्षेत्रमा पूरै गाउँ डुबानमा परेका छन् । नवलपरासीको परासी बजार पूर्णरूपमा डुबेको छ ।
रुपन्देहीको देवदहस्थित घोडाहाको पक्की पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

त्यस्तै नवलपरासीको गैंडाकोटमा रहेको डाईभर्सन बगाउँदा रातिदेखि नै राजमार्ग अवरुद्व भएको थियो ।
निरन्तरको वर्षाले रूपन्देहीको तिनाउ, रोहिणी, कन्चन, कपिलवस्तुको वाणगंगामा जलसतहभन्दा माथि आएको छ ।

 

  • ११ भाद्र २०७८, शुक्रबार १५:२६ प्रकाशित